— गोपीकृष्ण ढुंगाना
सबेरै निद्रा खुल्यो । पहिलोपटक पुगेको हिमाल पारीको जिल्ला मुस्ताङको पहिलो रात सर्लक्कै छिचोलिएछ । जुरुक्क उठेर झ्याल खोलें । सामुन्नेको निलगिरी हिमालले घुम्टोमात्र उघारेको रहेछ । तुँवालो र बादलले अन्नपूर्णलाई त छपक्कै छोपेको रहेछ, पोथीकुखुराले चल्ला छोपेजस्तो । म हस्स परें । हिजो पनि धवलागिरी समेतले दर्शन नदिएको झोक मसँग छँदै थियो । उन्मुक्त मन एकाएक खसक्क भयो, ‘होइन, हिमाल पारीको जिल्ला मुस्ताङ आएर पनि अघाउँजी हिमाल हेर्न नपाउनु ?’
सोह्रमध्येको एउटा दुर्गम तर सुन्दर गाउँ रहेछ कोबाङ । नेपालको स्वीट्जरल्याण्ड मानिएको मुस्ताङको यो गाउँलाई हेरे पुग्नेरहेछ । नेपाली कला साहित्य डट कम प्रतिष्ठानअन्तर्गत अध्यक्ष मोमिलाले दर्जन स्रस्टालाई कलासाहित्य यात्रा २०७० मा त्यहाँ पु¥याएकी थिइन् । वर्षको पहिलो महिनाले बिदा लिएको थियो त्यहाँ पुग्दा । तीन गते शुक्रबार बिहानका लागि अघिल्लै दिन हाम्रो गाँस र बासको जिम्मा लिएका लज थासाङ भिलेज भुर्जुङकोटका प्रमुख अर्जुनसिंह तुलाचनले मर्निङ वाकको संकेत गरेका थिए । साढे पाँच भने पनि थकित स्रस्टाले बीस मिनेट ढिलो गरेरै छोडे । आहा, कस्तो मीठो स्वागत ः सामुन्ने धवलागिरी मुसुक्क हाँस्यो । सूर्यको किरण पाएको धवलागिरी हिमाल सुनझैं टल्कियो । हामी सौन्दर्यमा लुटुपुटु हुन पाएका मख्ख । मन लागेजति फोटो खिच्यौं ।
अर्जुन दाइ अघि लाग्नुभयो । सुकर्म ब्याण्डका डा. ध्रुवेशचन्द्र रेग्मी, शेखर खरेल र म पछि लाग्यौं । हामीलाई पछ्याउँदै कलाकर्मी राजन काफ्ले, सञ्चार एवं साहित्यकर्मी जयदेव भट्टराई, मणि लोहनी र ठाकुर बेलबासे पनि लम्किए । ‘ढिलो गरे मर्निङ वाक नमजा हुन्छ है, बिहानको सिरसिर हावासँगै हुइकिनुको मज्जा लिनुपर्छ है, लौ चाँडो’, अर्जुन दाइले बाटो तताउन हतार लगाउनुभएथ्यो । हामी पश्चिम हानियौं । ढुंगाको बाटो सुरु भयो । बाटोमात्र होइन, पर्खाल पनि ढुंगाकै अनि बाटोमा भेटिएको स्कुल पनि ढुंगाकै । दर्जनौं घरको बस्ती नाउरीकोट सबै ढुंगैढुंगाले बनेको । इट्टा, बालुवा, रड र सिमेन्ट नभई घर बन्दैन भन्ने मनस्थिति बनिसकेका हामीलाई यो दृष्यले फरक महसुस गरायो ।
ढुंगे बाटोमै रातै फलेको चेरीको बोटले बोलायो । तर घरधनी नभएकाले हामी मुखमा आएको थुक सुकाउँदै भाग्यौं । करिब पाँच मिनेटको भ¥याङे ढुंगे बाटोले हामीलाई छोड्यो । एकछिन दुःख लागे पनि तुरुन्तै सुखद् अनुभूति गरिहाल्यौं, किनकी घाँसे तर उकालो मैदानले स्वागत गरेको थियो । सबै कपडाका काँडे सोल भएका जुत्तामा थिए, म भने छालाको त्यो पनि चिप्ले सोलमा । आयोजकले दिएको जानकारीअनुसार कार्यक्रम स्थल सबैमा सवारीसाधन पुग्नेछ र कतै घुम्ने तालिका थिएन । मैले यही सूचनालाई आधार बनाएर कपडाको जुत्ता बोकेको थिइनँ । मर्निङ वाक गर्ने भनेपछि चाहिन्छ भन्ने थाहा भए पनि अरुका लगाउन चाहिनँ । शित छरिएको घाँसे उकालोमा छालाको जुत्ता चिप्लिन थाल्यो ।
‘हेल्थ इज वेल्थ’, अगुवा अर्जुन दाइ मर्निङ वाकको ‘प्रोमोसन’ मा लागे, ‘स्वास्थ्य राम्रो राख्न सके जीवन सर्वोत्कृष्ट बन्दोरहेछ । जवानी र पैसाको पछाडि लागेर स्वास्थ्यलाई समय नदिनेहरुको बुढेसकाल असुरक्षितमात्र होइन, अस्तव्यस्त हुँदोरहेछ ।’ हिमालको चिसो हावा र मूलको पानी पिएझैं थिए उनी । उनको सक्रियपनले पनि बताउँथ्यो, उनको स्वास्थ्य । स्वास्थ्य मानिसलाई कुनै हुरीबतासले केही गर्न नसक्दोरहेछ । पढ, पढ, पढ, कमाउ, कमाउ, कमाउ... अनि रोग कमाऊ । मीठो खाउँ भन्ने बेलामा खानै नपाउने भएपछि पो चाल पाउने । दाइका स्वतस्फूर्त निस्किरहेका वाक्यहरुले हामीलाई रोगीलाई सूईले झैं च्वास्स च्वास्स पार्दै थिए ।
‘घुर्साङपो’ को उकालो सुरु भइसकेको थियो । छेवैको आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरी हाम्रो मर्निङ वाकको साक्षी थियो । हाम्रो जाँगर देखेर सायद ऊ बेलाबेला मुस्कुराउँथ्यो । पहिलोपटकको उकालो मर्निङ वाकले थकाउँदा रोकिनु परेको दृष्यले सायद रिसाउथ्यो, त्यसै त्यसै बादल ओढेर गजधम्म पथ्र्यो अनुहारै लुकाएर । प्रकृतिले पनि धेरै कुरा सिकाउँदोरहेछ, हिमालले पग्लिएर र सुनामी गर्जिएर पनि हामी मानिसले धेरै ज्ञान पाएका छौं । ‘ग्लोबलाइजेसन’ को समयमा हामीले प्रकृतिबाट सिकेर स्वास्थ्य बचाउन सकेनौं भने...। पचार नाघेका अर्जुन दाइ चिट चिट पसिना काढ्दै सुनाउँदै थिए । हामी पनि अघिको चिसो बिर्साउने पसिनालाई नचाहेर पनि स्वागत गर्दै थियौं ।
घुर्साङपोले हामीलाई अग्ल्याउँदै थियो । काठमाडौंबासी हामी पनि धुँवा र धुलोको सामना गर्नु नपरेकाले अग्लिँदै थियौं । सम्म सडकको सट्टा उकालोमा स्याँ स्याँ जमाउँदै थियौं । जंगलको मध्य भागमा पुगेका हामीलाई न कुनै गाडीले दुःख दिएको थियो, विगतको मर्निङ वाकझैं । बरु थियो थासाङमा पालिएको काले (कुकुर) की काली । मर्निङ वाक निस्किएदेखि अघि लागेकी ऊ हामीलाई बाटो देखाउँदै अघिअघि लागिरही । ‘एई... उता होइन एता...’, अर्जुन दाइको स्वर र इशासालाई पछ्याउँदै कालीले मूलबाटो छोडेर दाहिने मोडी आफूलाई र हामीलाई पनि । अब सुरु भयो झनै ठाडो उकालो । जुत्ता चिप्लिएर हैरान भइसकेको मैले प्राडा तारानाथ शर्मा र उनको ‘घनघस्याको उकालो’ लाई सम्झें ।
लामो तर ठिकैको ठूटो बोकेर गोठबाट फर्किएको करिब तीसको ठिटोलाई दाहिनेपट्टि पारेर हामी चार अघि बढ्यौं । लगभग सुरुदेखि नै पछि पछि आइरहेका बाँकी चारले नभेट्दै हामी घुर्साङपोको टुप्पोमै पुग्यौं । अर्जुन दाइले उत्तरतिरको अग्लो पहाडपट्टि फर्किएर भूइँमा ढोग्नुभयो । डा. ध्रुवेश, शेखर र मैले पनि ढोग्यौं । धर्ती मातालाई कुल्चिएवापत क्षमा माग्नुपर्ने प्रसंग निस्कियो । झन्डै आकाशलाई छुन आँटेकोजस्तो अग्लो पहाडका चार पाँच ठाउँबाट स—साना झरना हेर्दै रमाइरहेका हामीलाई क्षणभरमै अर्जुन दाइले ओशोतिर मोड्नुभयो । त्यतिञ्जेलमा सबै भेला भइसकेका थियौं । ४५ मिनेटको उकालो चढेर थाकेका हामीलाई फोटो खिच्ने उत्साहले राहत दियो । ओरालो झर्ने समय सुरु भयो तर मलाई अबको ओरालो सामना गर्ने सामाथ्र्य दिएको थिएन जुत्ताले ।
‘घुर्साङपोलाई ‘ओशो डाँडा’ मा परिणत गरेका छौं, यो हामीले सन् २०११ नोभेम्बर ११ का दिन घोषणा गरेका थियौं’, अर्जुन दाइले नयाँ नाम राख्नुको कारण हामी सबैलाई सुनाउनुभयो, ‘ओशो साहित्यले ज्ञानी र शक्तिशाली बनाउनेरहेछ, ठूलो मान्छे त बनाउँदैन तर असल र गुनिलो बनाउनेरहेछ । कम्तिमा जीवनको मूल्य र मान्यता सिकाउँदोरहेछ, बढाउनेरहेछ ।’ डा. ध्रुवेशले आफू पनि ओशोको दर्शनबाट प्रभावित भएको बताउनुभयो । एकैछिनको मौन हिँडाइमा हामीले चराचुरुंगीका चिरबिर सुन्यौं, मोहित भयौं । सल्लाले आधिपत्य जमाएको घुर्साङपोमा ओरालो यात्राको कामना गर्दै सुसेली हालिरह्यो, सायद बिदाइको क्षण ठानेर सुस्केरा पनि । फरक बाटो फर्किन पाएकोमा केहीबेर खुसीको तालमा पौडिएको मेरो अब भने सुकेर झरेका सल्लाका पात र ठाडो ओरालोले सातो उडायो । तल हेरेकोे त मुटु नै थरर भयो ।
उकालोमा साथ दिने दाइ ध्रुवेशको हात च्याप्प समातें र म अघि लागें । शेखर दाइले राजनजीलाई अघि लाग्न सल्लाह दिनुभयो । बीचमा दुईतिर हात समातेको म दुई मिनेट मुस्किलले ओरालिएँ । दुर्घटना हुनुअघि जोगिनु राम्रो भन्ने लागेर जुत्ता खोलेर घुमाउरो ओरालो ओर्लिएँ । ‘दुःख पाइस् मंगले आफ्नै ढंगले’ भनेझैं बेलामा बुद्धि नपुग्दा तिखा ढुंगामा बाह्रैमास जुत्ता लगाएर कलिला बनेका पैताला घोचाउँदै हिँडें । मलाई मानसिक रुपमा साथ दिने दाइहरुले भन्नुभयो, ‘बिहान खाली खुट्टा हिँड्नु एकदमै राम्रो कुरो हो । यसको अनुभूति जुत्ताचप्पल लगाएर हिँड्नेले कहाँ पाउनु ?’ हामीले नचिनेका थुप्रै जातजातिका रुख र बुट्यानलाई समात्दै छोड्दै ओरालो ओर्लिरह्यौं । ओइलाएका लालीगुँरासका दर्जनौं बोट देख्दा लाग्थ्यो, जवानी चुसेर बुढी भएका वेश्याको पनि हालत यही हो । फुलेको मौसम भए हामी नै गाउँथ्यौं होला, म त लालीगुँरास भएछु...।
आधा घण्टा ओर्लिएपछि समथर फाँट देखियो । नदेखिने खोलाको छङछङ आवाजले यात्रामा संगीत भरेको आभास भयो । झुलुक्क देखिने घामले हिमालाई घरीघरी जिस्क्याउँथ्यो । फाँटबाट देखिएको हिमाल पग्लिएर स—साना झरना झरेझैं लाग्यो । केहीबेर जौ र आलु बारीसँग लुकामारी खेल्दै मर्निङ वाक हिड्यौं । पुनः ढुंगे बाटोले स्वागत ग¥यो । मैले पनि टेरिनँ, जुत्ता नलगाएरै भ¥याङजस्तो ढुंगे बाटोलाई कुल्चिरहें । थासाङ भिलेज पुगेर गिजर घुमाउँदै मज्जाले नुहाएँ, डेढ घण्टे उकालोओरालोका पसिना सारा पखालें । जीवनमा मर्निङ वाक धेरै ठाउँमा धेरै हिँडें तर यस्तो जीवन्त स्वाद पहिलोपटक महसुस गरें । शरीर दिनभर चंगा बनेर उडिरह्यो ।
अ. ने. सा. स. फर्मोसा च्याप्टर, ताइपेई, ताइवान प्रयास अनलाइन å}dfl;s बर्:ष ३ अंक: ४ संस्करण: २२ जुलाई - अगस्त २०१३ 117
INLS, Formosa Chapter, Taipei, Taiwan PRAYAS Online Bi-Monthly Volume: 3 Issue: 4 Number: 22 July - August. 2013
अ. ने. सा. स. फर्मोसा च्याप्टर, ताइपेई, ताइवान प्रयास अनलाइन å}dfl;s बर्:ष ३ अंक: ४ संस्करण: २२ जुलाई - अगस्त २०१३ 118
