pragya-pratisthanगोपीकृष्ण ढुंगाना
काठमाडौं : कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको भवन कति जीर्ण भइसकेको छ भने वर्षाका बेला कर्मचारीले काम छोडेर ओत लाग्नुपर्ने अवस्था छ। पानी चुहिने समस्याबाट कर्मचारीलाई धेरै सकस भए पनि समाधानतर्फ व्यवस्थापन पक्ष उदासीन छ। ‘पानी दर्केपछि कागजपत्र र किताब बटुलेर कुनातिर ओत लाग्नुपर्छ भने कम्प्युटरलाई छाता ओढाउनुपर्ने अवस्था छ’, प्राज्ञ बुँद रानाले भने।
प्रतिष्ठान भवन चुहिन थालेको बर्सौं भइसकेको छ। भवनको पूर्वीदक्षिण भागको बरन्डामा पानी चुहिन्छ। कर्मचारी कार्यकक्षको उत्तर लङबाट पनि पानी चुहिने गरेको रानाले बताए।
तत्कालीन कुलपति राजा महेन्द्रले २०१४ सालमा प्रज्ञाप्रतिष्ठान स्थापना गरेका थिए। प्रतिष्ठान भवन भने २०२६ सालमा निर्माण भएको थियो। ११ वर्षअघि सार्क शिखर सम्मेलनका लागि सामान्य मर्मत भएको थियो। त्यसपछि मर्मतसम्भार भएको छैन। रानाका अनुसार भवनको एक दर्जनभन्दा बढी ठाउँबाट पानी चुहिने गरेको छ। कुलपतिको कार्यकक्ष पनि चुहिने समस्याबाट मुक्त छैन।
भवन निर्माणसँगै जडान गरिएका करिब डेढ दर्जन एअरकुलर काम नलाग्ने भएका छन्। प्राज्ञ विष्णु प्रभातले भने, ‘भवनसामुन्ने बनाइएको पोखरीको पानीसँग सम्बन्ध गराएर कुलर चलाइएको थियो। एक दशक भएछ, पोखरी पनि सुकेको छ। फोहोरा चल्दैन। कुलर पनि चल्दैनन्।’
प्रतिष्ठानको मुख्य हलमा जडित साउन्ड सिस्टमले पनि काम गर्दैन। कार्यक्रम सञ्चालनका क्रममा झकिझकाउ र झिलिमिली बनाउनुपर्ने भए पनि सामान्य रूपमा जडान भएका बत्तीसमेत सबै बल्दैनन्।
एक कर्मचारीले भने, ‘आयोजक आफैंले साउन्ड सिस्टम ल्याएर काम चलाउँछन्। एकपटकको कार्यक्रमलाई पचासौं हजार तिरे पनि बिजुलीबत्तीको पूर्ण व्यवस्था छैन।’ तेस्रो तलामा कुलरका सामग्री यत्रतत्र छरिएका छन् भने पुराना कुर्सी, सोफा र टेबुल पनि लथालिंग छन्। ती कर्मचारीले भने, ‘भवन जति जीर्ण छ, यहाँका अन्य सामान पनि त्यस्तै छन्।’
प्राज्ञ प्रभात तत्कालीन राजाले निजी सम्पत्ति लगानी गरी बनाइदिएको भवनलाई सरकारले मर्मत गर्न नसक्नु दु:खद् भएको बताउँछन्। उनले भने, ‘छुट्ट्याइएको बजेटको झन्डै ९० प्रतिशत प्राज्ञ र कर्मचारी तलबभत्तामै जाने भएकाले मर्मतका लागि रकम पुग्दैन।’
उपकुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानको भवन पुनर्निर्माण गर्न अढाइ करोड रुपैयाँ आवश्यक पर्ने बताए। भवन पुनर्निर्माण तथा मर्मतसम्भारका लागि आवश्यक बजेटका सम्बधमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र संस्कृतिमन्त्री रामकुमार श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराइएको छ। रेग्मी प्रतिष्ठानका संरक्षक र मन्त्री श्रेष्ठ सहसंरक्षक हुन्। भवन चुहिएको देखेपछि मन्त्री श्रेष्ठले केही समयअघि तत्काल बजेट निकासा गर्ने आश्वासन दिएका थिए। उप्रेतीले भने, ‘अढाइ करोड रुपैयाँ विनियोजन गरिदिने आश्वासन दिनुभएको थियो तर रातो किताबमा कतै देखिएन।’
संस्कृति मन्त्रालयको संस्कृति महाशाखाका प्रमुख भरतमणि सुवेदीले जायज माग आगामी दिनमा पूरा गरिने बताए।